‘होल बडी चेकअप’ : चुनौती अनि भ्रमहरू 

स्वास्थ्य क्षेत्रमा बढ्दो जन चेतना र प्रबिधिको विकासले गर्दा प्राय: जसो शहरी क्षेत्रमा “सम्पूर्णाङ्ग जाँच” (Whole body check-up ) गर्ने प्रचलन बढेको देखिन्छ। यस्ता “सम्पूर्णाङ्ग जाँच” प्याकेजहरु दक्ष जनशक्तिका साथ अत्यन्त स्तरीय देखि बिना पुर्बाधार र निम्न स्तरका प्राबिधिकहरुको सहभागितामा पनि गरेको देखिन्छ। स्वस्थ रहन र समयमा नै रोगको पहिचान गर्ने राम्रो मनसाय बाट गर्ने यस प्रकारका “सम्पूर्णाङ्ग जाँच” आवश्यक परामर्शको अभाब तथा त्यस भित्रका अन्तर्निहित ब्यबसायिक स्वार्थका कारण रोगको गलत पहिचान र उपचारका नाममा अनावश्यक अपरेशन सम्म पनि गरेको देखिएका छन्। 

साधारणतया: “सम्पूर्णाङ् जाँच” प्याकेज अन्तर्गत रगतमा सुगरको मात्रा, लिपिड प्रोफाइल (कोलेस्तेरोल), रक्त अल्पता, थाइरोइड, युरिया, क्रियातिनिन (किड्नीको अवस्था थाहा पाउन), पिसाब र दिसाको जांच, छातीको एक्सरे, पेटको भिडिओ एक्सरेको साथ साथै मुटुको लागि प्रेस्सर, इ सी जी र इको जांच गर्ने गरिन्छ। तर कतिपय अवस्थामा विभिन्न भिटामिन हरुको जांच जस्तै भिटामिन D, B12, calcium साथै मुटुको थप जांच (TMT, Holter) र महिलाको लागि स्तन तथा पाठेघरको क्यान्सरको पनि जांच गर्ने गर्छन्। धेरै जसो नसर्ने रोग हरु जस्तै डाइबिटिज, ब्लड प्रेसर, क्यान्सर,थाइरोइड, दम आदि रोगहरु बिस्तारै शुरु हुन्छ र कहिले कहिँ बर्षौ पनि लाग्ने गर्छन्। ती रोगहरुको लक्ष्यण देखिनु भन्दा अगाडी नै सहि तवरले जांच पड्ताल गर्न सकेको खण्डमा प्रारम्भिक अबस्थामै रोगको पहिचान गर्न सकिन्छ। “सम्पूर्णाङ्ग जाँच” गर्नुको मूल उदेश्य पनि प्रारम्भिक अबस्थामै रोगको पहिचान गर्नु हो । यसरी रोगको लक्ष्यण देखिनु भन्दा अगाडी नै जांच गरेर पत्ता लगाउन सक्ने समय लाई चिकित्सकिय भाषामा lead time भनिन्छ । हुन त lead time भन्ने शब्द धेरै जसो क्यान्सर रोग पत्ता लगाउनको लागि प्रयोग गरेको देखिन्छ। जस्तै ५० बर्ष पुगी सके पछि कोलोन, प्रोस्टेट, फोक्सो, स्तन तथा पाठेघरको क्यान्सरको विभिन्न स्क्रिनिंग टेस्टहरु गर्ने गरेको देखिन्छ। 

Whole body check –up को नतिजाको मुल्याकन

“सम्पूर्णाङ्ग स्वास्थ्य” जांचको ल्याब नतिजा नर्मल आयो भन्दैमा हामी पूर्ण तवरले स्वस्थ छ भन्न मिल्दैन। त्यस्तै ल्याबको रिपोर्टमा केहि तल माथि आयो भन्दैमा हामीलाई रोग नै छ भने पनि हैन ।  धेरै जसो मान्छेहरुमा यो कुरामा भ्रम भएको देखिन्छ। कतिपय ल्याबको रिपोर्टहरु तत्कालको खाना अनि हाम्रो आनीबानी र शरीरको थकान साथै टेन्सन हरुले पनि प्रभाब पार्न सक्छ  र फेरि रुजु गर्नु पर्ने पनि हुन सक्छ। रोगको निदानको लागि त चिकित्सक मार्फत  बिरामीको सुक्ष्म अध्ययन र ल्याब जांच साथ साथै मानसिक र सामाजिक अवस्थाको पनि हेक्का  राख्नु पर्छ । तपाई हामी सबैलाई थाहा भएकै कुरा हो मानिस पूर्ण रुपमा स्वस्थ हुन शारीरिक साथ साथै मानसिक र सामाजिक रुपले पनि तन्दुरुस्ट हुनु पर्छ । ल्याबको रिपोर्टमा मात्र हामी बढी भर पर्दा हाम्रो मानसिक र सामाजिक स्वस्थको स्थिति बारे कम महत्व दिएको देखिन्छ ।  के हाम्रो एक अर्का संगको सम्बन्ध, पारिवारिक समस्या, आर्थिक तनाब, निन्द्रामा आउने परिबर्तन हरु रोगको निदानको लागि थाहा पाउन आवश्यक छैन? त्यस्तै महिनावारी भएको बेला र हालै महिनावारी बन्द भएका महिलाहरुको रिपोर्टमा पनि केहि परिबर्तन हुन सक्छ। यी कुरा हरुलाई बेवास्ता गरि शुरु गर्ने उपचार अपुरो मात्र हैन कहिले कहिँ घातक पनि हुन सक्छ।  

लिपिद प्रोफाइल भनेको के हो ?

हाम्रो शरीरमा जम्मा कोलेस्तेरोलको अनि त्रैग्लेसिरिडको मात्रा बढ्नु र बिशेषत LDL प्रकारको कोलेस्तेरोल बढी अथवा HDL प्रकारको कम भएमा मुटुमा समस्या र दिमागमा stroke हुने सम्भावनालाई बढाई दिन्छ। cholesterol को शरीरमा अवस्था थाहा पाउनको लागि हामीले रगतमा लिपिद प्रोफाइलको जांच गर्नु पर्छ। नेपालको वयस्क हरुमा हालै स्वास्थ्य अनुसन्धान परिषद बाट गरेको अध्ययन अनुसार cholesterol को समस्या मुख्यतया: “खराब चिल्लो” LDL बढी हुने भन्दा “राम्रो चिल्लो” HDL को मात्रा कम हुनेहरु बढी छ। यस बाट के कुरा संकेत गर्छ भने हाम्रोमा भएको cholesterol को समस्या हामीले फ्यात बढी खाएर हैन (जुन हामी सबै जना सोच्छौ) यो त हामीले राम्रो फ्यात नखाएर भएको देखिन्छ जुन हामी सबैको लागि अचम्म लाग्न सक्छ। माथि भने जस्तै तत्कालको खानपिन, बशानुगत, उमेर, धुम्रपान, लिङ्ग, अरु रोग हरु जस्तै मधुमेह, औषधिको सेवनको समयमा रगतको संकलन गरेको आदि कारण हरुले पनि लिपिद प्रोफाइलमा थपघट हुन सक्छ। लिपिदको जांचमा मात्रा थपघट हुने बित्तिकै सबै चिल्लो खाना बार्नु पर्दैन।  हामी सबैलाई बिद्धितै छ दैनिक सन्तुलित आहारा परिपूर्ति गर्न २०-३०% क्यालोरी चिल्लो खानाको समूह बाट प्राप्त गर्नु पर्छ । स्यचुरेतेद र ट्रान्स फ्याट जुन धेरै जसो प्रोस्सेस गरि बनाएको खानाहरु, धेरै समय सम्म तत्ताएर प्रयोग गरेको तेलमा पकाएको खानाहरु साथै चिल्लो मासुको प्रयोगमा कमि गरि “राम्रो  चिल्लो” पदार्थ पाउने खानाहरु जस्तै बनस्पति तेलहरु, माछा तथा समुद्री खानाहरु, भटमास र बदामको प्रयोग गरि हामीलाई चाहिने  चिल्लो मात्राको पूर्ति गर्न सकिन्छ। नियमित शारीरिक ब्यायामले पनि लिपिद प्रोफाइलमा भएको केहि थपघट नर्मल गर्न मद्दत गर्छ।  दैनिक करिब २००-३००  मि लि दुग्ध तथा दुग्ध जन्य पदार्थ हामीले सेवन गर्नु पर्छ र लिपिद प्रोफाइलमा समस्या भएको व्यक्ति हरुले चाही कम चिल्लो भएको छान्नु उपयुक्त हुन्छ।  

साधारणतया: LDL cholesterol को मात्रा १३० mg/dl  भन्दा बढी भएमा बढी भएको मानिन्छ तर १९० mg/dl बढी भएमा मुटुको समस्या हुने सम्भावना बढी हुने भएकोले नियमित चिकित्सकको जांच तथा औषधिको प्रयोग गर्नु पर्ने हुन्छ । हाल विभिन्न आप्स (Apps) हरु पनि उपलब्ध छ जसले लिपिद प्रोफाइलको मात्रा संगै अरु अवस्था हरुको तुलना गरि हामीलाई मुटु सम्बन्धि समस्या हुने सम्भावना कति छ भने जानकारी दिन्छ। यस मध्ये एउटा American College of Cardiology ले बनाएको स्वस्थ व्यक्तिमा १० बर्ष भित्र रक्तनलीहरु जाम भै हुने मुटुका समस्या हरुको अनुमान गर्ने ASCVD Apps, यस्तो समस्या भएको बिरामी हरुको  लागि धेरै जानकारी मुलक देखिन्छ।

भिडिओ एक्सरेको रिपोर्टबारे परामर्श

यस प्रकारको स्वास्थ्य जांचमा  साधारण पेटको भिडिओ एक्सरे गरिन्छ जस्ले पेट, आन्द्रा, मृगौला लगायत कलेजो, पित्त थैली र पान्क्रियजको पनि अवस्था थाहा पाउन मद्त मिल्छ।  शरीरका यी विभिन्न अंग हरुमा हुने बनावतीय समस्याहरु, पत्थरी, तथा ट्युमोर पहिचान भिडिओ एक्सरे बाट गर्न सकिने भए पनि हामीले भुल्न नहुने कुरा के छ भने यस बाट यी अंग हरु राम्रो संग काम गरेको छ कि छैन थाहा नहुन सक्छ ।  यस्को लागी थप जांचको आवस्यकता पर्छ।  यसरी साधारण भिडिओ एक्सरे गर्दा हाम्रो जन समुदायमा हाल पित्त थैलीको पत्थरी पनि धेरैकोमा पत्ता लागेको  देखिन्छ। कुनै लक्ष्यण र समस्या नभएको व्यक्तिमा अचानकको  पत्थरी पत्ता लाग्दा धेरै नै ठुलो रोग लागे झैँ पिर लिने र तत्कालै अपरेसन गर्ने कि पर्खने बारे पनि धेरैलाई दुबिधा हुन्छ।    

यस्तै पित्त थैलीको पत्थरी पत्ता लागे पछि दुबिधामा परेको बिरामी हालै परामर्शको लागि मलाई भेट्न आउनु भएको थियो।  झन्डै २० बर्ष जति नै अघि जब यस्ता “सम्पूर्णाङ्ग स्वास्थ्य” जांच कार्यक्रम भर्खरै शुरु मात्र भएको थियो उक्त व्यक्ति आफ्नो स्वास्थ्य बारे चनाखो भै परिक्षण गराउनु भएको रहेछ।  अरु परिक्षणहरु नर्मल नै भए पनि पित्त थैली मा सानो  पत्थरी चाही भिडिओ एक्सरे बाट पत्ता लाग्यो । अप्रत्याशित रुपमा देखिएको पत्थरीले वहा लाई नराम्री सत्तायो र अनेक शंका  उपशंका र घरबाट खानपिनमा बन्देज गर्न थालियो। तुरन्तै सर्जन संग पनि सम्पर्क गर्नु भयो, तुरन्तै अपरेशन गर्नु पर्ने सुझाब पाउनु भयो र नगरेमा पित्त थैलीको क्यान्सर समेत हुन सक्ने कुरा सुने पछि राम्रो संग सुत्न पनि सक्नु भएन । फेरि यता घर साथी भाई बाट हर्बल तथा आयुर्वेदिक दबाई बाट ठिक हुने सल्लाह पाउनु भयो।  नजिकै रहेको अर्को अनुभबी सर्जनसंग पनि जांच गराउदा फेरि अपरेशनको लागि केहि हतार गर्नु नपर्ने सुझाब पाउनु भयो।  यसरी बिगत बिस वर्ष भित्र वहाले कैयौ डाक्टरहरु संग परामर्श गर्नु भएको, धेरै पैसा खर्ची सकेको र थरि थरिको सुझाबहरुले थप मानसिक पिडामा परि रहेको प्रस्टसंग देखिन्छ।  एक किसिमले पित्त थैलीको पत्थरीको आफै “डाक्टर” भैं सक्नु भएको भान हुन्छ।  सन्जोगबश वहाको पित्त थैलीको पत्थरी यो २० बर्षमा जस्ता को त्यस्तै छ र केहि पेट दुख्ने वा अरु समस्या भएको छैन तर त्यति अघि थाहा पाएर कतिको फाइदा वा बेफाइदा भयो एक पल्ट मनन चाही गर्नु पर्छ जस्तो छ। यो एउटा प्रतिनिधि पात्र मात्र हुन् र “सम्पूर्णाङ्ग स्वास्थ्य” जांचको नतिजा लाई कसरि ब्यबस्थापन गर्ने कुरामा कुनै तयारी र एकरुपता नहुँदा बिरामीहरु कति भौतारिनु पर्ने हुन्छ भने प्रस्ट्याउछ।  रोगले भन्दा बेशी कहिले कहिँ त्यस्कै पिरले मानसिक तनाब दिई रहेको हुन्छ।  रोग पत्ता लागे पछि त सबै डाक्टर हरुबाट समान सुझाब हुनु पर्ने हैन र ? किन प्राइभेट अस्पतालमा जाँदा एक थरि अनि सरकारीमा जाँदा अर्कै सुझाब दिन्छन? चिकित्सा बिज्ञानको पुस्तकहरु सबैले पढ्ने एउतै हैन र? वहाको यस्ता थुप्रै प्रश्नहरुको म संग उत्तर थिएन र म आफै यो सम्बन्धिको कुनै बिज्ञ नभएकोले तत्कालै मैले केहि सहयोग गर्न पनि सकेन।  

तर चिकित्सा बिज्ञानको आजको यो  डिजिटल युगम़ा यस्तो अस्पस्ट कुराहरु बारे बिध्यमान चिकित्सा बिज्ञानका बिज्ञहरुको के धारणा छ भनि हामीले अनलाइन मार्फत पनि जानकारी तथा बैज्ञानिक आधारहरुको खोज नीति गर्न सकिन्छ। खोज्दै जाँदा के प्रस्ट भयो भने पित्त थैलीको यस्तो लक्षण बिहिन पत्थरी बारे चिकित्सा बिज्ञानका बिज्ञहरु बीच पनि मत बाझेको देखिन्छ।  यसै सिलसिलमा बिना लक्षण पत्ता लागेको पित्त थैलीको पत्थरीको (aymptomatic gall stone disease) बारे World Gastroenterology Organization को  अपरेशन गर्नु नपर्ने नै निष्कर्ष छ। यो सस्था चाही पित्त थैली साथै पाचन प्रणालीका रोगहरुको उपचार गर्ने चिकित्सकहरुको हो र आवस्यक मार्ग निर्देशन तयार गर्ने आधिकारिक निकाय पनि हो। झन्डै १०% जति वयस्क हरुमा पित्त थैलीको पत्थरी हुने नै रहेछ र प्राय जसो महिला हरुमा हुने र अमेरिका र युरोपमा  यसको संख्या अझै बढी रहेछ। त्यसैले हामी मध्ये कसैलाई भएको पत्ता लागेमा आतीई हाल्न नपर्ने रहेछ। तर पित्त थैलीको पत्थरीको लक्षण बिशेषत दायाँ कोख तिर बेस्कन दुख्ने र कहिले कहिँ दायाँ कुम तिर पनि सर्न सक्छ भएमा अपरेशन गर्नु पर्ने सुझाब दिएको छ। यस्तो लक्षण बिहिन पित्त थैलीको पत्थरी बिरामीहरुमा गरिएको अध्ययनले के पनि देखाएको छ भने झन्डै ३० बर्ष फलो अप गर्दा 0.३% लाई मात्र पित्त थैलीको क्यान्सर भएको जुन पित्त थैलीको अपरेशन (Cholecystectomy) गर्दा हुन सक्ने जोखिम र अपरेशन पछि हुने असर हरुलाई मध्य नजर गर्दा यो जोखिम न्यून रहेको जनाएको छ।    

विभिन्न भिटामिनको जांच 

हाल गर्ने स्वास्थ्य जांचको प्याकेजमा विभिन्न भिटामिन हरुको पनि टेस्ट गर्ने गरेको पाईन्छ।  यस मध्ये धेरै जसो भिटामिन B12, D र calcium बढी गर्ने चलन छ।  म आफै संगलन अनुसन्धान बाट केहि लक्षण नभएको भक्तपुरमा महिला तथा बच्चाहरुको रगतमा  भिटामिन B12 कमि भएको केहि लेखहरु अन्तराष्ट्रिय बैज्ञानिक जर्नलमा प्रकाशित पनि छ।  धेरै जसो शाहाकारी खाना खानेहरुमा  यस्को जोखिम बढी छ। तर धेरै जसो यी भिटामिन हरुको रगतमा नर्मल मात्रा कति हुनु पर्छ भनेर एकिन छैन र बिकसित मुलुकका जनताहरुमा गरिएको अध्ययनको आधारमा तयार गरेको मात्रासंग तुलना गर्नु पर्ने हाम्रो बाध्यता छ। रगतमा कमि देख्दैमा वास्तविक रुपमा कमि नहुन पनि सक्छ। त्यसैले हतारमा महँगो महँगो भिटामिनको औषधि सेवन गर्नु अघि एक पल्ट सोच विचार गर्नु नै राम्रो हुनेछ।

अन्त्यमा फेरि एक पल्ट हाम्रो शरीरको सरंचना जटिल भएको र प्रत्येक व्यक्तिको रोगको जोखिम फरक फरक हुने भएकोले स्वास्थ्य जांचको प्याकेजमा गरिने टेस्ट हरुको रिजल्टमा नर्मल भए स्वस्थ र केहि तल माथि भए रोगि भनेर बर्गीकरण गर्नु त्यति युक्तिसंगत देखिन्दैन।  बिकसित देश हरुमा पनि यसरी होलसेल तरिकाले टेस्ट गर्ने भन्दा प्रत्येक व्यक्तिको जोखिमको आधारमा चिकित्सकले जांच गरे पछि निर्धारण गर्छ। टेस्ट गरेको रिजल्टमा दिइने अंक कति को महत्वपूर्ण छ त्यतिकै रगत कसरि संकलन गरेको, कुन स्तरको ल्याबमा कतिको गुणस्तर पुराएर गरेको कुराहरु थाहा पाउन जरुरि छ।  त्यस्तै ECG लगायत मुटुको जांच गर्ने टेस्ट हरुले तत्कालको अवस्थामात्र जनाउने हो । मुटुको अवस्था प्रत्येक क्षणमा परिबर्तन भइ रहने हुनाले टेस्टको रिपोर्टमा देखाएको रिजल्टको आधारमा हाल ठिक अवस्था मा छ र भोलि का दिन हरुमा  ठिक नै भै रहन्छ भनेर केहि ग्यारेन्टी हुन्दैन । आशा छ माथि उठान गरिएका कुरा हरुले प्याकेजमा गरिने स्वास्थ्य जांचको सहि सदुपयोग हुनेछ र तपाई हामी संधै स्वस्थ हुन टेवा मिल्नेछ।   (लेखक: डा. चंद्यो रोटरी क्लब अफ मध्यपुरमा पूर्व अध्यक्ष एव चिमालय च्यारिटी नेपाल, बोडेका संस्थापक हुनुहुन्छ ।)             

डा. रामकृष्ण चंद्यो
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -