भक्तपुरमा भित्रियो टेडेक्स भक्तपुर

भक्तपुर । भक्तपुर जिल्लामा पहिलोपटक टेडेक्स भक्तपुर (TEDxBhaktapur) कार्यक्रम शनिबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न उमेर समूहका मानिसहरुले गरेका सकारात्मक कार्यहरुलाई श्रव्यदृश्यको माध्यमबाट समुदायमा रहेका विभिन्न विषयहरुमा प्रमुख वक्ताहरुको वक्तव्यहरुलाई संग्रहित गरी विश्वसामु फैलाउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

भक्तपुर जिल्लामै पहिलोपटक भएको यो कार्यक्रमले भक्तपुरलाई संसारभरि फैलाउन मद्दत गर्ने संयोजक न्हुजकिजुले बताए । न्हुजकिजुका अनुसार कार्यक्रमले भक्तपुरलाई विश्वजगत्मा बौद्धिक तरिकाले पनि परिचित गर्ने र समुदायमा रहेको आइडियाहरुलाई संसारमा ल्याउन मद्धत गर्ने बताएका छन् । उक्त कार्यक्रममा भक्तपुरकै विभिन्न क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्तिहरुले तोकिएको समयसीमामा आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा प्रखरवक्ता, पत्रकार तथा कवि र कान्तिपुर टीभीको फायरसाइडका पूर्वकार्यक्रम सञ्चालक रुपेश श्रेष्ठले पत्रकार हुँदाखेरि मानिसको नजरमा सधैँ हाँसीखुसी बस्नुपर्ने तर मनभित्रको विरोधाभाषलाई चाहिँ कसैले नबुझ्ने तथ्यलाई प्रकाश पार्नुभयो । यस्तै गरी सूचना–प्रविधि क्षेत्रमा प्रसिद्धि कमाएकी नेपाल दुरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजाकिरण बासुकलाले सूचना प्रविधि क्षेत्रमा महिलाहरु पनि आउनुपर्छ भन्ने विषयमा जोड दिइन् । यसैगरी अफरिङ्ग ह्यापिनेस र ओहो केकका सह–संस्थापक सन्तोष पाण्डेले एक युवा व्यवसायीतर्फको आफ्नो यात्रालाई प्रकाश पारेका थिए । ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाँछेथुले पनि उक्त कार्यक्रममा ट्राफिक नियम पालना गर्नुपर्ने विषयलाई उठान गरेका थिए । यस्तै गरी वन्यजन्तु फोटोग्राफर नरेश कुसीले लोपोन्मुख जनावर हिमालीचौरीको कथा प्रस्तुत गरे भने फोटोमार्फत Young Conservation Leader award जितेको अनुभव बताएका थिए ।

अर्का वक्ता निरज लवजुले युवाहरुले कुन उद्देश्यले राजनीति गर्ने ? किन राजनीति र जीवन परीपुरक छन् भन्ने विषयमा आफ्नो मन्तव्य राखेका थिए

TED को पूरा अर्थ Technology, Entertainment र Design हो । यसैमा आधारित रहेर विचारहरु बाँड्नको निम्ति बनाइएको नाफारहित संगठन नै TED हो । यस संगठनले छोटा तर अत्यन्त प्रभावकारी कुराकानीमार्फत् विभिन्न कार्यक्षेत्रका विभिन्न व्यक्तिहरुको विचार दर्शकमाझ प्रस्तुत गर्दछ । यो विश्वको १ सय ३० भन्दा बढी देशमा आयोजना हुने गर्दछ । नेपालका विभिन्न जिल्लामा यो कार्यक्रम हुने गरेको छ । यो कार्यक्रम गर्नका लागि भने टेडको आधिकारिक कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । अहिलेको समयमा भएको नयाँ खोज अनुसन्धानहरुको खबर र जानकारीलाई संसारभरि फैलाउने काम यस कार्यक्रमबाट हुने गर्दछ । कार्यक्रमबाट प्रखर वक्ताहरुको वक्तव्यहरुलाई संग्रहित गरी युट्युब च्यानलमार्फत् प्रचारप्रसार गर्ने संयोजक न्हुजकिजुले बताए ।
कार्यक्रमका संयोजक न्हुजकिजुले सबै वक्ताहरुलाई मायाको चिनो र प्रमाण पत्रप्रदान गरीसमापन गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -