म, मेरो बच्चा र सिकारी

म साढे तीन महिनाकी गर्भवती थिएँ । बेथा बेलाबेला लाग्थ्यो । घरिघरि पेट दुख्ने र जीउ भारी हुन्थ्यो । तर पनि साँझको बेला दूलोबाट निस्किएर वरिपरि घुम्न र विचरण गर्न मन लाग्थ्यो । गर्भमा बच्चा भएकै कारण पनि मलाई धेरैजसो भोक लागिरहन्थ्यो । त्यसैले पनि शरीर भारी भए पनि चारा खोज्न विस्तारै, सम्हालिंदै बाहिर आउँथे । चारा खोज्ने क्रममा अलि टाढा नै पुगेछु । मेरो दुर्भाग्य, जंगलमा टहल्न आएका सिकारीको नजरमा पुगे । म आफ्नै सुरमा चारा खोज्दै थिए । एकासी टाउकोमा नराम्रो गरी केही चीजले मलाई बजारियो । म घायल भए, अशक्त अवस्थामा रहेकी म भाग्न पनि सकिनँ । अन्ततः म विवश भएर डल्लो परें किनभने मलाई मेरोभन्दा पनि गर्भमा रहेको बच्चाको माया असाध्यै लाग्यो । म उसलाई यो संसार देखाउन चाहन्थे । यही मेरो अवस्थाको फाइदा उठाएर सिकारीहरुले मलाई आफ्नो फन्दामा पारे । मलाई यस्तो साँघुरो ठाउँमा कोचे कि मैले डल्लो हुन पनि नपाई तेर्सो नै भएर धेरै समय, करिब तीन दिन नै बिताउनुपर्यो । मलाई भोक लागिरहेको थियो । जसको फलस्वरुप गर्भको बच्चालाई भोक लागेर क्षणक्षण चल्दा मलाई झन् सारो गारो भइरहेको थियो । भोक त एक ठाउँमा थियो तर बेलाबेला सायद खराब बाटोको कारण म राखिएको बाकस यताबाट उता र उताबाट यता गर्दा, झन् मलाई पीडा भइरहेको थियो ।

यहीं पीडाले मलाई प्रसुति पीडा बढायो । मेरो विचारमा म अझै दुई सातापछि सुत्केरी हुन्थे होला तर भोक, प्यास, तनाव, पीडा, डर आदिका कारण मलाई प्रसब बेथा लाग्यो । सारै अप्ठ्यारा परिस्थितिका बाबजुद मैले बच्चा जन्माए । म मरणासन्न अवस्थामा थिएँ । मैले आफ्नो बच्चा देख्नसमेत पाएको थिइन । किनभने मलाई राखिएको बाकस यति साँघुरो थियो कि मैले कुनै हलचल गर्न सक्ने अवस्था नै थिएन । मैले हरेक समय भगवान पुकार्थे । सायद त्यसैको चमत्कारले होला, मलाई कसैले उक्त बाकसबाट मुक्त बनाइदिए । एकातिर आलो प्रसुति बेथा, त्यसमाथि धेरै दिनको भोक, प्यासले म मरणासन्न अवस्थामा पुगिसकेको थिएँ । त्यसमाथि मानिसहरुको भीडले मलाई आगोमा घ्यू छर्केजस्तै पीडा भइरहेको थियो । पीडाको कारण आफ्नो बच्चा के–कस्तो अवस्थामा, त्यो पनि मलाई ध्यानमा आएन । बचेखुचेको शक्तिले म उक्त ठाउँबाट कसरी भाग्ने सोचमा थिएँ र सोही कार्यमा व्यस्थ थिएँ । तर आफूले आफैलाई सर्वश्रेष्ठ मान्ने घमण्डी मानिसको अघि मेरो केही सीप लागेन । केही दयालु मानिसले मलाई दूध र अण्डा राखेर शान्त वातावरणमा सजिलो हुने गरी राखिदिएका थिए । तिनीहरुलाई थाहा भएन होला तर मैले उनीहरुलाई आसिस दिइरहेकी थिएँ । बिस्तारै राखिएको दूध र अण्डा अलिकति खाएँ । आफ्नो बच्चा सुम्सुमाए । तर पछि अर्को दिन फेरि मलाई पहिलेकै साँघुरो बाकसमा राख्ने, मानिसको मनलाग्दा बाहिर छोडिदिन्थे । त्यसमध्ये मेरो बच्चा एक दयालु महिलाले आफ्नो खास्टोमा बेरेर राखेको देखेर म अलि सन्तुष्ट भएँ । तर पनि हरपल मानिसको जालबाट बाहिर जाने कोसिसमा रहिराखे । करिब २ दिनपछि मात्र मलाई जंगलमा छोडिदिए । म एकदम कमजोर भइसकेकी थिएँ । तर पनि भएको बल निकालेर दूलो खन्न थाले । विस्तारै–विस्तारै अलिक भित्रसम्म खनी आँखा नै नखुलेको बच्चालाई बासनाको घरमा आफूसँगै डोर्याएर दूलोभित्र लगे । यसरी हाम्रो जीवन जोगियो तर पनि मानिस हिँडेको आवाजले म थरथर हुन्छु । मलाई मेरो बच्चा कसरी जोगाउने भन्ने पीडाले सताइरहन्छ । किन भने मानिस नै हाम्रा परम शत्रु हुन् । म अरु वन्यजन्तुलाई विश्वास गर्छु तर मानिसबाटै मलाई अत्यधिक खतरा र जोखिम छ ।

(सालक संरक्षणमा कार्यरत कसपाल यसैमा विद्यावारिधि गर्दैछिन् ।)

प्रतिभा कसपाल
+ posts

सालक संरक्षणमा कार्यरत कसपाल यसैमा विद्यावारिधि गर्दैछिन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -