नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जनरल फोटो स्टुडियोका सञ्चालिका ४३ वर्षीया सुमित्रा कोइराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका सञ्चालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीमा सञ्चालित विभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै ती फोटो स्टुडियोहरुबाट प्रहरीले ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेटसमेत बरामद गरेको छ ।

उनीहरूलाई लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि प्रहरी बृत्त गौशाला काठमाडौंमा पठाइएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -