भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टनमा सर्मिला र कृषा उपाधि नजिक

भक्तपुर । मध्यपुर थिमि न.पा. ७ की सर्मिला के.सी. र ४ की कृषा श्रेष्ठ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको उपाधी नजिक पुगेका छन् । बिहीबार सम्पन्न सेमिफाईनलमा के.सी.ले मध्यपुर थिमि ८ की संजिला बुढालाई २१–५, २१–८ ले तथा कृषाले मध्यपुर थिमि १ की स्वर्लिन श्रेष्ठलाई २१–११, २१–१९ ले पराजित गर्दै उपाधिका लागि भिड्ने भएका छन् ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सूर्यविनायक न.पा. ८ का आयुष प्रजापति र ३ का रमेश बस्नेत फाईनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रजापतिले भक्तपुर न.पा. २ का रेश्वत सुवाललाई २१–११, ११–२१, २१–१८ ले पराजित गर्दै फाईनलमा रमेशसँग सामना निश्चित गरेका हुन् । रमेशले चाँगुनारायण न.पा. २ का श्रृयांश कटुवाललाई २१–९, २१–१३ ले पराजित गरे ।
युगल तर्फ मध्यपुर थिमि ७ का अशोक अधिकारी र महेश कार्कीको जोडी तथा थिमी ७ का भिम राज कार्की र साजन न्यौपानेको जोडीले फाईनलमा स्थान पक्का गरेका छन् । अशोक र महेशको जोडीले सूर्यविनायक ४ का केशव कार्की र नवराज सापकोटाको जोडीलाई १२–२१, २२–२०, २१–१४ को कठिन जित निकाले । यस्तै भिम र साजको जोडीले सूर्यविनायक ३ का दीपक खत्री र लेखनाथ पराजुलीको जोडीलाई २१–१४, १८–२१, २१–१९ ले पराजित गरे ।
यसै गरी भेट्रान ४५ बर्षका युगलमा मध्यपुर थिमि ८ का पूर्णहरि होना र प्रेमभक्त जयनाको जोडीले मध्यपुर थिमि १ का सन्तमान द्वारे र सुमन खड्काको जोडीलाई ११–२१, २१–१४, २१–१७ ले पराजित गर्दै उपाधिका लागि मध्यपुर थिमि ३ का भिम गिरी र देन लामाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र लामाको जोडीले मध्यपुर थिमि १ का दीपक खनाल र मनिष पराजुलीको जोडीलाई २१–१६, २१–१७ ले पराजित गरे ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ ।
२०० बढि खेलाडीको सहभागिता रहेको प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भईरहेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -