नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण भएन

काठमाडौं– प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि प्रमाणीकरण नगर्ने निर्णय गर्नुभएको छ । संसदबाट पारित भएर आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रपति भण्डारी पछि हटेकी हुन् ।

संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले असोज ४ गते मंगलबार राति १२ बजेसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ संविधानको यो बाध्यकारी व्यवस्थालाई राष्ट्रपतिले उलंघन गर्दै विधेयक प्रमाणीकरण नगरेकी हुन् ।

आफूले दिएका १५ बुँदे सुझावहरूलाई संसद्ले बेवास्ता गरेर दोस्रोपटक जस्ताको त्यस्तै पठाएपछि असन्तुष्ट बनेकी राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी छन् ।

२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले हुबहु पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -