बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रदेशकै कर्मचारीलाई सचिव बनाउन माग

इछापा संवाददाता २०८३-०७-१३
बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रदेशकै कर्मचारीलाई सचिव बनाउन माग
हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा प्रदेशकै ११औँ तहका कर्मचारीलाई सचिवको जिम्मेवारी दिन माग गरिएको छ। स्वास्थ्य सेवाका ६ जना ११औँ तहका अधिकृतले शुक्रबार मुख्यमन्त्री किरण थापा मगरलाई तीनबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै प्रदेशभित्रैबाट सचिव नियुक्त गर्न माग गरेका हुन्।

प्रदेश निजामती सेवा ऐन, २०७९ ले ११औँ तहका कर्मचारीलाई मन्त्रालयको सचिव बनाउने व्यवस्था गरेको उल्लेख गर्दै उनीहरूले ऐनअनुसार तत्काल पदपूर्ति गर्न माग गरेका छन्। मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको गत असोज ३० गते सरुवा भएपछि उक्त पद रिक्त छ।

हाल बागमती प्रदेशमा स्वास्थ्य समूहका ६ जना ११औँ तहका अधिकृत कार्यरत छन्। उनीहरू स्वास्थ्य निर्देशनालय, प्रयोगशाला, तालिम केन्द्र तथा औषधि आपूर्ति केन्द्रमा जिम्मेवारी सम्हालिरहेका छन्।

स्वास्थ्य निर्देशक डा. नरेन्द्रकुमार झाका अनुसार प्रदेश निजामती सेवा ऐनको दफा २, ५ र ८ ले प्रदेशका ११औँ तहका कर्मचारीलाई सचिवको जिम्मेवारी दिने व्यवस्था गरेको छ। त्यस्तै, दफा ११२ अनुसार प्रदेशमा कर्मचारी उपलब्ध नभएको अवस्थामा मात्र संघीय सरकारले कर्मचारी खटाउन सक्ने प्रावधान रहेको उनीहरूको दाबी छ।

प्रदेशमै योग्य जनशक्ति उपलब्ध हुँदाहुँदै संघबाट सचिव ल्याउने तयारी गर्नु कानुन र संघीयताको मर्मविपरीत हुने उनीहरूको भनाइ छ।

कर्मचारीहरूले प्रदेश सरकारले ऐनविपरीत संघबाट सचिव नियुक्त गरे कामकाजमा असहयोग गर्ने र आवश्यक परे मन्त्रालयको सेवा प्रवाह नै ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.