कतार एयरवेजको नेपाल नेतृत्वमा बोगटी

इछापा संवाददाता
कतार एयरवेजको नेपाल नेतृत्वमा बोगटी
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई नै दिएको छ । कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा बढुवा भएका हुन् ।

बोगटीका अनुसार काठमाडौंमा मात्रै दैनिक १० करोड रुपैयाँ बराबरको टिकट कारोबार गर्ने कतार एयरवेजको नेपाल कार्यालयमा यसअघि यो पदमा नेपाली नगरिक पुगेका थिएनन् । कोभिड महामारीपछि नेपालमा कतार एयरवेजको कन्ट्री म्यानेजरको पद रिक्त थियो । नेपाल कतार एयरवेजको बंगलादेशमा रहेको कार्यालयमातहत थियो ।

बोगटीका अनुसार गत अप्रिलदेखि पदोन्नति प्रक्रिया अघि बढे पनि पूर्ण अधिकारसहितको जिम्मेवारी नोभेम्बरदेखि हुनेछ । ४० वर्षीय बोगटीले कतार एयरवेजमा सेल्स म्यानेजरका रूपमा १० वर्षअघि प्रवेश गरेका थिए । त्यसअघि उनी काठमाडौंको एक सवारी साधनसम्बन्धी कम्पनीमा मार्केटिङ तथा सेल्समा काम गर्थे । उनले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा पनि दुई वर्ष काम गरेका थिए । कतार एयरवेजमा प्रवेश गर्दा उनको काम टिकट बिक्री र बजार प्रवर्द्धनमात्रै केन्द्रित थियो । अब भने उनले नेपालमा कम्पनीको व्यावसायिक गतिविधिदेखि सरकारी निकाय र कूटनीतिक क्षेत्रसँगको सम्बन्धसम्म हेर्नुपर्ने छ ।
बोगटीका लागि यो पदोन्नति व्यक्तिगत करिअरको प्रगति मात्र नभई, कम्पनीमा कार्यरत नेपाली कर्मचारी नेतृत्व तहमा पुग्न ढोका खुला भएको संकेत पनि हो । उनका अनुसार यसअघि कन्ट्री म्यानेजर, सेल्स म्यानेजर र एयरपोर्ट म्यानेजरजस्ता प्रमुख पदमा कतार एयरवेजले विदेशी कर्मचारी मात्रै राख्दै आएको थियो । कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवाका लागि कन्ट्री म्यानेजर, सेल्स म्यानेजर र एयरपोर्ट म्यानेजर सबैभन्दा शक्तिशाली पद हुन् ।

कन्ट्री म्यानेजरको काम टिकट बिक्रीमा मात्र सीमित हुँदैन । बजारको माग बुझ्ने, नियमित यात्रुसँग सम्बन्ध कायम राख्ने, सरकारी निकाय र दूतावाससँग समन्वय गर्ने तथा व्यावसायिक अवसर पहिचान गर्ने जिम्मेवारी पनि हुन्छ । नेपालमा कम्पनीको बजार विस्तारसँगै भविष्यमा अन्य देशमा क्लस्टर म्यानेजर वा क्षेत्रीय म्यानेजरका रूपमा काम गर्ने अवसर समेत आउनसक्ने बोगटीले कान्तिपुरसँग बताए ।

कतार एयरवेजले नेपालमा श्रम गन्तव्यमा व्यवसायिक उडान मात्रै सञ्चालन गर्दैन, उच्चपदस्थ सरकारी अधिकारी र राष्ट्रप्रमुखलगायत विशिष्ट पाहुनालाई अन्तर्राष्ट्रिय यात्रामा सेवा पनि दिँदै आएको छ । बोगटीका अनुसार नेपालका राष्ट्रप्रमुख तथा अन्य विशिष्ट व्यक्तिले विदेश यात्रा गर्दा सबैभन्दा धेरै कतार एयरवेज रोज्दछन् ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.