बूढीगण्डकी बाढीको पाँच दिनपछि खुल्यो बाटो

इछापा संवाददाता
बूढीगण्डकी बाढीको पाँच दिनपछि खुल्यो बाटो
बूढीगण्डकी नदीमा आएको बाढीले अवरुद्ध बनाएको बाटो पाँच दिनपछि आंशिक रूपमा खुलेको छ। बाटो खुलेसँगै धार्चे गाउँपालिका–२ का केरौँजा, केरौँजाबेँसी तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन्। यद्यपि, बाटो पूर्ण रूपमा सञ्चालनमा नआउँदा स्थानीयवासीलाई खाद्यान्न ढुवानीमा समस्या भएको छ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार आइतबार आएको बाढीले खानीबेँसी, माछाखोला, खोर्लाबेँसी र दोभानका झोलुङ्गे पुल तथा बेलिब्रिज बगाएपछि उक्त क्षेत्रको आवागमन अवरुद्ध भएको थियो। गाउँपालिकाको आह्वानमा स्थानीय युवाले लगातार तीन दिन श्रमदान गरेपछि बाटो आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।

मङ्गलबार, बुधबार र बिहीबार केरौँजा, केरौँजाबेँसी तथा रुन्चेतका ४० देखि ५० जना स्थानीयले बाढीले थुपारेको लेदो हटाउने, ठाउँठाउँमा मुढा तेस्र्याउने र भर्‍याङ राख्ने काम गरेका थिए। त्यसपछि पैदल आवागमन सम्भव भएको अध्यक्ष गुरुङले बताउनुभयो।

उहाँका अनुसार बाटो खुलेपछि रोकिएर बसेका करिब १०० जना भर्‍याङ र डोरीको सहायताले गाउँ पुगेका छन्। अन्य स्थानीय पनि गन्तव्यतर्फ जाने क्रममा छन्। बिहीबार अबेरसम्म पनि बाटो मर्मतको काम जारी थियो।

६०० परिवारमा खाद्यान्न अभावको जोखिम

बाटो अवरुद्ध हुँदा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने स्थानीयलाई खाद्यान्न अभाव हुने चिन्ता बढेको अध्यक्ष गुरुङले बताउनुभयो। हाल मर्मत गरिएको बाटोमा मानिसहरू मुस्किलले हिँड्न सक्ने भए पनि भारी बोक्न र खच्चड हिँडाउन सक्ने अवस्था छैन।

केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६०० परिवारमा खाद्यान्न पुर्‍याउने मुख्य माध्यम खच्चड भएकाले बाटो पूर्ण रूपमा सञ्चालनमा नआएसम्म खाद्यान्न ढुवानी प्रभावित हुने उहाँको भनाइ छ।

“अझै केही दिन खाद्यान्न ढुवानी हुन सकेन भने ती बस्तीमा अभाव हुन्छ। दिनभरि मजदुरी गरेर बिहान–बेलुका छाक टार्ने परिवारलाई झन् समस्या पर्छ,” अध्यक्ष गुरुङले भन्नुभयो।

अन्य क्षेत्रको बाटो अझै अवरुद्ध

धार्चे गाउँपालिका–२ केरौँजातर्फ जाने बाटो आंशिक रूपमा खुले पनि वडा नं १ र ३ तथा चुमनुब्री गाउँपालिकातर्फ जाने बाटो अझै सञ्चालनमा आउन सकेको छैन। यसले चाडपर्वका बेला स्थानीयवासीको आवागमनमा समेत कठिनाइ उत्पन्न गरेको छ।

बाढी प्रभावित बस्तीमा तत्कालको खाद्यान्न अभाव टार्न मात्रै करिब एक हजार २०० बोरा चामल आवश्यक पर्ने अध्यक्ष गुरुङले बताउनुभयो। बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिए खाद्यान्न आपूर्तिमा थप समस्या हुन सक्ने देखिएको छ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.