क्यानडाको जितले नेपालको प्रतीक्षा लम्बियो

इछापा संवाददाता
क्यानडाको जितले नेपालको प्रतीक्षा लम्बियो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शीर्ष ६ मा स्थान सुरक्षित गर्न नेपालले अझै प्रतीक्षा गर्नुपर्ने भएको छ। बिहीबार भएको खेलमा ओमानलाई ५८ रनले पराजित गर्दै क्यानडाले शीर्ष ६ मा पुग्ने आफ्नो सम्भावना कायमै राखेपछि नेपालको प्रतीक्षा लम्बिएको हो।

लिग–२ मा एक खेल खेल्न बाँकी रहेको क्यानडा २७ अंकसहित सातौँ स्थानमा छ भने दुई खेल खेल्न बाँकी नेपाल २८ अंकसहित छैटौँ स्थानमा छ। नेपालले शनिबार क्यानडाविरुद्ध वा सोमबार ओमानविरुद्ध हुने खेलमध्ये कुनै एकमा जित हासिल गरे छैटौँ स्थान पक्का गर्नेछ।

ओमानको अल अमारात क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। क्यानडाका समित गोहेलले सर्वाधिक ६७ रन बनाए भने आदित्य वरधराजनले ५५ रनको योगदान दिए। ओमानका हसनैन शाहले तीन विकेट लिए भने जय ओडेदरा र इमरान अलीले समान दुई विकेट हात पारे।

२५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान ४६.३ ओभरमा १९८ रनमै समेटियो। ओमानका हम्माद मिर्जाले सर्वाधिक ४९ रन बनाए। हसनैन उल वहाबले २९ र हसनैन शाहले २७ रन जोडे। क्यानडाका शिल पटेल र जाहिद शिरजादले समान तीन विकेट लिए।

यस जितसँगै क्यानडाले लिग–२ को शीर्ष ६ मा पुग्ने सम्भावना जीवित राखेको छ। नेपालले बाँकी दुई खेलमध्ये कम्तीमा एकमा जित निकाल्दै विश्वकप छनोटको आगामी चरणमा स्थान सुरक्षित गर्ने लक्ष्य राखेको छ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.