भक्तपुर–रत्नपार्क मेट्रो रेल : मध्यपुर थिमिमा तीन स्टेशन प्रस्ताव

इछापा संवाददाता २०८३-०७-१४
भक्तपुर–रत्नपार्क मेट्रो रेल : मध्यपुर थिमिमा तीन स्टेशन प्रस्ताव
मध्यपुर थिमि । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले प्रस्तावित मेट्रो रेल सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययनका क्रममा मध्यपुर थिमि नगरपालिकामा छलफल गरिएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका–JICA) को प्राविधिक सहयोगमा भइरहेको अध्ययनअन्तर्गत आयोजित छलफलमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलमा प्रस्तावित मेट्रो रेलमार्ग, स्टेशनको स्थान तथा स्थानीय आवश्यकताका विषयमा जनप्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए।

यसअघि जाइकाले कागेश्वरी मनोहरा नगरपालिकामा समेत यस विषयमा छलफल गरिसकेको छ। काठमाडौं उपत्यका सहरी यातायात गुरुयोजनाअन्तर्गत प्रस्तावित भक्तपुर–रत्नपार्क मेट्रो रेलमार्ग (MRT) को लम्बाइ प्रारम्भिक विवरणअनुसार १४.६ किलोमिटर रहने प्रस्ताव छ।

प्रस्तावित रेलमार्गमा जगातीदेखि रत्नपार्कसम्म ११ वटा स्टेशन रहने अवधारणा अघि सारिएको छ। जसमध्ये मध्यपुर थिमि नगरपालिकाभित्र मध्यपुर थिमि, थिमि र गठ्ठाघर गरी तीनवटा स्टेशन प्रस्ताव गरिएका छन्।

सम्भाव्यता अध्ययनका क्रममा रेलमार्ग निर्माण तथा सञ्चालनको प्राविधिक र व्यावहारिक पक्षसँगै वातावरणीय प्रभावको समेत मूल्याङ्कन गरिनेछ। विशेषगरी धुलो, ध्वनि, कम्पन, निर्माणजन्य फोहोर, ट्राफिक अवरोध तथा खानेपानी, विद्युत् र ढलजस्ता विद्यमान पूर्वाधारमा पर्न सक्ने प्रभावलाई अध्ययनको दायरामा समेटिएको छ।

काठमाडौं उपत्यका सहरी यातायात गुरुयोजनाले कुल ५८ किलोमिटर लम्बाइका तीनवटा MRT लाइन प्रस्ताव गरेको छ। यद्यपि, प्रस्तावित मेट्रो रेलको अन्तिम मार्ग, स्टेशनको स्थान तथा निर्माणसम्बन्धी निर्णय विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भएपछि मात्रै तय हुनेछन्।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.