नेपाल कोरिया मैत्री अस्पतालमा मोडुलर आइसियु सेवा सुरु

इछापा संवाददाता
नेपाल कोरिया मैत्री अस्पतालमा मोडुलर आइसियु सेवा सुरु
मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मोडुलर आइसियु (सघन उपचार कक्ष) सेवा सुरु भएको छ। बिहीबार आयोजित एक समारोहबीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त सेवाको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएर आएदेखि नै अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम गरिरहेको बताए ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नगरपालिकाद्वारा सञ्चालित मुलुककै सुविधासम्पन्न अस्पतालमध्ये एक भएको उल्लेख गर्दै उनले स्वास्थ्य बिमा दाबीका आधारमा यो अस्पताल पाँचौँ ठूलो अस्पताल बन्नु गौरवको विषय भएको बताए ।

पोर्टेबल अल्ट्रासाउन्ड मेसिन खरिद गरी वडावडामा स्वास्थ्य सेवा प्रदान गरिएकै कारण अस्पताल मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पतालमध्ये पर्न सफल भएको श्रेष्ठको भनाइ थियो। उनका अनुसार चाँगुनारायण अस्पतालमा समेत नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट विशेषज्ञ सेवा उपलब्ध गराइँदै आएको छ।

छिट्टै कार्डियोलोजी (मुटुरोगसम्बन्धी) सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले मुटुरोगीलाई लक्षित गरी ए ग्रेडको एम्बुलेन्ससमेत खरिद गर्न लागिएको बताए।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अत्याधुनिक आइसियु सेवा सञ्चालनमा आएसँगै आइसियु अभावका कारण बिरामीले उपचार नपाउने अवस्थालाई कम गर्न मद्दत पुग्ने बताए। अस्पताललाई विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा विकास गरिरहेको उल्लेख गर्दै उनले चार वर्षअघिसम्म घाटामा रहेको अस्पतालले पछिल्लो समय सेवा तथा सुविधा विस्तारसँगै नाफा कमाउन सफल भएको जानकारी दिए।

अस्पताल सञ्चालक हरिदास प्रजापतिले पछिल्ला केही वर्षमा अस्पतालले उल्लेखनीय प्रगति गरेको बताए। उनले अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उच्च मनोबलका साथ सेवा प्रवाह गर्न आग्रह गरे। देशका विभिन्न भागबाट उपचारका लागि बिरामी आउने यस अस्पतालमा दैनिक करिब १ हजार २०० जनाले सेवा लिने गरेको प्रजापतिले जानकारी दिए।

सेवा तथा सुविधामा वृद्धि र गुणस्तरीय उपचारका कारण अस्पतालमा आउने बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको नगरप्रमुख श्रेष्ठले बताए। उनले बिरामीका गुनासा सम्बोधन गर्न अस्पताल प्रशासनलाई विशेष ध्यान दिन आग्रह गरे।

अस्पतालको नयाँ भवन निर्माण सम्पन्न हुने क्रममा रहेको जानकारी दिँदै श्रेष्ठले भवन सञ्चालनमा आएपछि उपचारका लागि आउने बिरामीले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.