सूर्यविनायक बन्यो भक्तपुरकै पहिलो बालमैत्री नगर

इछापा संवाददाता
सूर्यविनायक बन्यो भक्तपुरकै पहिलो बालमैत्री नगर
सूर्यविनायक नगरपालिकालाई भक्तपुर जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बिहीबार नगरपालिका भवनको प्राङ्गणमा आयोजित समारोहमा नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन्।

नगरपालिकाले बालमैत्री स्थानीय शासनका लागि निर्धारित ५१ वटा सूचक पूरा गरेपछि नगर घोषणा गरिएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए। नगरपालिकाले दुई महिनाअघि नै आफ्ना सबै १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको थियो।

सरकारको ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ अनुसार निर्धारित सूचकमा बालबालिकाको स्वास्थ्य, शिक्षा, संरक्षण, विकास र सहभागितासँग सम्बन्धित विषय समेटिएका छन्।

‘बाल बचाउ’ शीर्षकअन्तर्गत १४ वटा सूचक रहेका छन्। तीमध्ये बालविवाह, बालश्रम तथा सडक बालबालिकाको समस्या अन्त्य गर्ने, गर्भवतीको नियमित स्वास्थ्य जाँच, टिटानसविरुद्धको खोप तथा आइरन चक्की सेवन, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी र बालबालिकालाई पूर्ण खोपको सुनिश्चितताजस्ता विषय समावेश छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार ‘बाल संरक्षण’ शीर्षकअन्तर्गतका १० वटा सूचक पनि पूरा भएका छन्। यसमा बालविवाह निषेध, बालश्रम नियन्त्रण, बालबालिकामाथि हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसा र दुर्व्यवहारको रोकथाम तथा सडक र बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण एवं पुनःस्थापनाको व्यवस्था समेटिएको छ।

त्यसैगरी, बालविकासतर्फका छवटा सूचकमा सबै बालबालिकाको जन्मदर्ता, विद्यालय जाने उमेरका बालबालिकाको विद्यालयमा भर्ना, बालमैत्री तथा लैङ्गिकमैत्री शौचालय र स्वच्छ खानेपानीको उपलब्धताजस्ता विषय समावेश छन्।

टोल, विद्यालय र वडास्तरमा बाल क्लब तथा बाल सञ्जाल गठन गरी सक्रिय बनाउने र स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने व्यवस्थालाई पनि बालमैत्री स्थानीय शासनका सूचकमा समेटिएको छ।

मुख्यमन्त्री थापाले निर्धारित सूचक पूरा गरी सबै वडालाई बालमैत्री घोषणा गरेपछि सूर्यविनायक नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न सफल भएको बताए। उनले यस उपलब्धिका लागि नगरपालिका परिवारलाई बधाई दिँदै बालमैत्री वातावरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.